दक्षिण कोरिया स्थित आन्सान सिटीको माइग्रेट भवनमा नेपाल तामाङ संघ दक्षिण कोरियाको आयोजनामा कोरियामा रहेका विभिन्न पेशामा आवद्ध नेपाली समुदायहरु भेला भई २८४६ औँ ताक ल्होछार बाघ बर्ग भब्य रुपमा मनाएका छन् । रोजगारीका लागि मातृ भूमि छोड्न बाध्य भएपनि प्रवासी भूमिमा यसरी नेपालीहरुले आफ्ना संस्कृति र परम्परालाई बचाई राखेको उदाहरण हुन् यी । कोरियामा रहेका विभिन्न जातीय संघ संस्थाहरुले आफ्नो परम्परालाई बचाई राख्ने उद्धेश्यले बेलावखत साथीसंगी छिमेकी तथा जातीय समुदायको आयोजनामा यहाँ रहेका सवै क्षेत्रका नेपाली समुदायहरुलाई भेला गरी महत्वपूर्ण नेपाली पर्वहरु मनाउने गरेका छन् । कोरियाको आइतवारे सार्वजनिक विदाको दिन तामाङहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी ल्होछार मनाएका छन् । मध्यान्न देखि नैँ भेला भएका नेपाल कोरिया साँस्कृतिक मञ्च आपतकालीन नेपाली सेवा समिति तथा अन्य स्थानीय नेपाली कलाकारहरुले मौलिक संस्कृति झल्किने पोशाकमा अतिथिहरुको स्वागत गर्दै गीत नृत्य तथा हाँस्य ब्यङ्ग प्रस्तुत गरेर कार्यक्रमलाई उल्लाषमय वनाएका थिए भने बिहानै देखि नेपाली चेलीहरुले मेहनतका साथ तयार पारेका नेपाली खानाका परिकारहरु वास्तवमै तारिफ योग्य थियो । तामाङहरुका लामा गुरुद्धारा मन्त्रोच्चारण र पुजा पाठ गरी सुरु गरिएको उक्त कार्यक्रमलाई प्रमुख अतिथी नेपाली सम्पर्क समितिका अध्यक्ष डेविड राई माइग्रेन्ट सेन्टरका डाइरेक्टर किम छन् मुन एनआरएनका उपाध्यक्ष ध्यान राई तथा नेपाली समुदायलाई सहयोग पुर्याउदै आएकी छाबी चिवकी आमाले सयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्धघाटन गरेका थिए । सो ल्होछारको अवसरमा शुभकामना मन्तब्य दिदै तमुधीका अध्यक्ष रामकाजी गुरुङले हालैका दिनहरुमा कोरियामा मनाइने विभिन्न पर्वहरुमा नेपाली अविभावकको हैसियतले नेपाली दूतावासलाई आमन्त्रण गर्दा पनि दूतावासले जातीय पर्वहरुलाई बेवास्ता गरेको भन्दै राज्यले ल्होछार पर्वलाई राष्ट्रिय पर्व घोषणा गरे पनि राज्यको तर्फबाट खटिएका प्रतिनिधीहरु निस्कृय रहेको भन्दै नेपाली दूतावास प्रति कडा आक्रोश ब्यक्त गरेका थिए । त्यसै गरी मन्तब्य दिने क्रममा प्रमुख अतिथी डेविड राईले आफ्नो संस्कार र सस्कृतिलाई वचाई राख्न प्रवासमा मनाइने नेपाली पर्वहरुको महत्वको वारेमा प्रकाश पारेका थिए । एनआरएनका उपाध्यक्ष ध्यान राईले यसरी प्रवासमा नेपाली पर्वहरु मनाउंदा आफ्नो संस्कार र संस्कृति पनि बचिरहने र प्रवासमा रहेका सवै जात जातीले एक अर्काको संस्कृति बुझ्न पाउने भएकाले यस्तो कार्यक्रमले एकअर्का प्रति सहिष्णुता कायम रहने विचार ब्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित अन्य कोरियन पाहुनाहरुले पनि ल्होछारको अवसरमा शुभकामना ब्यक्त गरेका थिए । तामाङ् संघका कार्यवाहक अध्यक्ष गणेश तामाङ्को सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको पहिलो चरण सचिव राम बाहादुर तामाङ्ले संचालन गरेका थिए भने दोस्रो चरणको साँस्कृतिक कार्यक्रम अक्कल लामाले संचालन गरेका थिए । |